लघुवित्त क्षेत्रका प्रमुख समस्या भनेको फण्डको क्राइसिस हो । त्यसैले आगामी मौद्रिक नीतिमा फण्डको व्यवस्थापन गर्नुपर्छ । अर्का फण्डको कस्ट हाई भएको अवस्था छ । अहिले लघुवित्तहरुले १५ प्रतिशत भन्दा पनि माथि ब्याज तिरिरहेको अवस्था छ । यस्तो अवस्थामा १५ प्रतिशतमा कर्जा लगानी गर्दा लघुवित्तहरुलाई समस्या भएको छ । यस विषयमा पनि मौद्रिक नीतिमा समावेश हुनुपर्छ । त्यस्तै आवधिक बचतहरु विशेष गरी लघुवित्त संस्थाहरुलाई लिनबाट रोक लगाएको छ ।
गाउँ–गाउँमा बाख्रा, भैँसी, कुखुरापालन जस्ता साना–साना रकम बचत गरेर आफ्ना सन्तानको भविष्यको लागि राखेका हुन्छन् । तिनीहरुलाई पनि रोक नलगाई बचत गर्ने अवसर लघुवित्तलाई प्रदान गर्नुपर्छ । हुनेखाने मानिसहरु वाणिज्य बैंकमा गएर बचत गर्न सक्छन् भने साना–साना बचत भएका मानिसहरु त वाणिज्य बैंकमा जाँदैनन् । त्यसैले विशेष गरी त्यस्ता मानिसहरुका लागि बचतको बाटो यस मौद्रिक नीतिमा खोलिनुपर्छ ।
पछिल्लो समयमा लघुवित्त संस्थाहरुलाई विभिन्न किसिमका आक्षेपहरु लाग्ने गरेको छ । लघुवित्त वित्तीय संस्था राष्ट्र बैंकको निगरानी तथा निरीक्षणमा रहेको हुन्छ । जसले गर्दा लघुवित्तलाई राष्ट्र बैंकले निरीक्षण गरिरहेको हुन्छ । यसरी लघुवित्तलाई राष्ट्र बैंकले नजिकबाट नियालेको हुन्छ । कहि कतै लघुवित्तले गरेको कमीकमजोरी छ भने कारबाही गर्नुपर्छ । नत्र भने विभिन्न समितिको नाममा तथा गैरकानुनी रुपमा लघुवित्तहरुलाई समुहमा बैठकहरु बस्न नदिने खालका क्रियाकलापहरु पनि भएका छन् । गरिबहरुलाई अझ गरिब बनाउने जस्तैः उनीहरुबाट विभिन्न दस्तुरहरु लिने र समुहमा आउन नदिने खालको क्रियाकलाप गर्नेलाई कानूनी दायरामा ल्याउने कुरा पनि मौद्रिक नीतिमा समावेश हुनुपर्छ ।
लघुवित्त क्षेत्रमा वि.सं.२०६३ सालदेखि म यस संस्थामा आबद्ध रहेको छु । त्यतिबेला एक रुपैयाँ पनि बचत नभएको महिलाहरुको अहिले १ लाख सम्म बचत पुगेको छ । यसरी लघुवित्तले पुँजी निर्माण गर्नका लागि धेरै ठूलो सहयोग गरेको छ । त्यस्तै ऋण लिन तथा कारोबारहरु सञ्चालन गर्नबाट डराउने महिलाहरु आज कुनै व्यापार तथा व्यवसायहरु सञ्चालन गरी आप्mनो नाममा सम्पत्ति जोड्न सफल भएका छन् ।
यसरी महिलाहरु लघुवित्तको माध्यमबाट सामाजिक तथा आर्थिक रुपमा अगाडि बढेका छन् । लघुवित्तको सदस्यता लिएका दिदीबहिनीहरु गाउँ गाउँमा गएर हेर्ने हो भने अधिकांश मानिसहरु वडा अध्यक्ष, वडा सदस्य र उपमेयरको संख्या बढी रहेको छ ।
त्यस्तै महिला सशक्तिकरणमा पनि लघुवित्तले ठूलो योगदान पुर्याएको छ । साना–साना उद्यमी बनाउने काम पनि लघुवित्तले गरेको छ । लघुवित्तले महिलाहरुलाई समुहमा काम गर्न सिकाएको छ । उनीहरुलाई आफ्ना विचारहरु राख्न साथै जबसम्म आर्थिक रुपमा सबल हुदैन तबसम्म सामाजिक रुपमा पनि सबल हुन सक्दैन भन्ने कुराको बुझाइ भएको छ ।
त्यस्तै सुरुमा गरिबहरुले पैसा तिर्न तथा बचत गर्न सक्दैन भन्ने मान्यता थियो । यस मान्यतालाई लघुवित्तले तोडिदिएको छ । सुरुमा लघुवित्त एनजिओबाट स्थापना भएको हो, त्यसमा लाभांशको कुरा हुँदैन्थ्यो । शेयरधनीहरु हुँदैन्थ्यो, बोनस खाने पनि हुँदैन्थ्यो । एउटा सामाजिक काम मात्र हुने गर्दथ्यो । गाउँ–गाउँमा गएर महिलाहरुलाई समुहमा आबद्ध गराउने काम हुने गर्दथ्यो । त्यहाँबाट उनीहरुलाई बचत गर्न ऋण चलाउन, सानो सानो खुद्रा व्यवसाय हुन सक्छ भन्ने कुराको मान्यताको विकास लघुवित्तको माध्यमबाट भएको हो ।
लघुवित्त वित्तीय संस्थाहरुले बिना धितो कर्जा प्रवाह गर्दछ । यो लघुवित्तको प्रमुख समस्या हो । समाजमा गरिबहरुले ऋण तिर्दैनन् भन्ने मान्यता थियो । लघुवित्त कार्यक्रम सुरु भैसकेपछि त्यो मान्यता तोडियो र उनीहरुले पनि पैसा तिर्छन्, र उनीहरु पनि इमान्दार हुन्छन् भन्ने विश्वास भयो । त्यसकारणले विभिन्न व्यक्तिहरुको लघुवित्तप्रति रुची बढ्यो र लघुवित्त संस्थाहरु एक्कासी धेरै स्थापना भए । स्थापना भइसकेपछि गलत प्रवृत्ति पनि आयो । जब वित्तीय संस्थाको स्थापना भयो त्यहाँ सेयरहोल्डरहरु भयो, पब्लिक शेयरमा गयो र मार्केटमा शेयर भ्यालुहरुमा बिक्री भयो ।
त्यसपछि प्रमोटरहरुलाई नाफा चाहियो, लगानीकर्तालाई पनि चाहियो र कर्मचारीलाई पनि बोनस चाहियो । त्यसपछि संस्थामा कसरी नाफा कमाउने भन्ने प्रवृत्ति बढ्यो । जुन कुरा लघुवित्त क्षेत्रमा समस्या तथा चुनौतीको रुपमा भएको छ । त्यसैले लघुवित्त वित्तीय संस्था टारगेट ग्रुप भन्दामाथि गयो ।
त्यस्तै लघुवित्त संस्थाहरुको बिगबिगीका कारण लघुवित्तका सदस्यहरुले एउटा संस्थाबाट कर्जा लिएर मिटर ब्याजमा कर्जा लगानी गर्न थाले । यसरी सदस्यहरुले उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी नगरेर उपभोगमा खर्च गर्न थाले । त्यस्तै लघुवित्त क्षेत्रमा प्रतिस्पर्धा बढी छ र ऋणको सीमा पनि बढ्दै गयो र चुनौतीको रुपमा आएको छ । लघुवित्त संस्थाहरुको बिगबिगीका कारण कर्जा नतिर्ने प्रवृत्ति बढेको छ र लघुवित्त क्षेत्रमा समस्या आएको छ ।
लघुवित्तकर्मीहरु सचेत हुनुपर्छ । संस्थाको उद्देश्यलाई प्राथमिकता दिनुपर्छ । ग्राहक सदस्यहरुले पनि उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी गनुपर्छ । साथै संस्थाले पनि नाफाको उद्देश्यलाई मात्र ध्यान नदिई सामाजिक जिम्मेवारी पुरा गर्नका लागि सामाजिक, आर्थिक उन्नति गर्नका निमित्त स्थापना भएको हुनाले नाफाको उद्देश्य नराखी गरिबी न्युनीकरणको उद्देश्य राखेमा लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिन्छ ।
कर्जा प्रवाह गर्दा ग्राहकको आवश्यकतालाई ध्यान दिने तथा कर्जाको सदुपयोगितालाई बढी जोड दिनुपर्छ । साथै पछिल्लो समयमा राजनीतिको प्रभाव बढेको छ । जसले गर्दा काम गरेर खानेको इज्जत घट्ने र राजनीतिमा हिँड्नेको तथा विदेश पलायन हुने मानिसलाई समाजले महत्व दिएको कारणले गर्दा कृषि तथा पशुपालनमा आधारित मानिसहरुको संख्या घट्दै गइरहेको छ ।
यसको प्रत्यक्ष असर लघुवित्तलाई परेको छ । किनकी लघुवित्तले कर्जा लगानी गर्ने भनेकै कृषि तथा पशुपालन क्षेत्रमा हो । यस कुरालाई पनि समन्वय गरेर अगाडि बढ्न सकेमा लघुवित्त क्षेत्रमा राम्रो हुने थियो ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले ३२ वटा शाखाबाट ग्राहकहरुलाई सेवा विस्तार गर्दै आइरहेको छ । संस्थाको ६ करोड चुक्ता पुँजी रहेको छ । १७२ जना कार्यरत कर्मचारी छन् । यस संस्थामा १२ हजार उद्यमी सदस्य संख्या रहेका छन् ।
२ अर्ब कर्जा लगानी गरेको छ । विशेष गरी कृषि, पशुपालन तथा साना–साना व्यवसायहरु, अटो, रिक्सा सञ्चालन गर्नका लागि कर्जा प्रदान गर्दै आएको छ । लगानी भएको कर्जामध्ये अधिकतम सबै प्रतिशत सही सदुपयोग भएका छन् । संस्थामा खराब कर्जाको अवस्था १.७२ प्रतिशत रहेको छ ।
Copyright © 2024 Upakar Microfinance Bittiya Sanstha Limited (ULBSL) | Developed & Maintained by SoAni Tech Nepal Pvt. Ltd.